काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचेका छन् । नाच्ने मात्र होइन उनीहरुलाई एक लाख रुपैयाँ दक्षिणा दिएको विषय पनि यतिबेला चर्चाको विषय बनेको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लक्ष्मीपूजाको दिन प्रचण्ड निवासमै पुगेर देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो ।

बिहीबार दिउँसो कलाकारहरूले प्रचण्डलाई सम्बोधन गर्दै देउसी भट्याएका थिए । कलाकार मन्जु पौडेल, राधिका हमाल, आयुषा गौतम लगायतसँग प्रचण्ड केहिबेर नाचे ।

देउसी खेलेसँगै प्रचण्डले आफू शान्ति सम्झौतामा आएदेखि नै कला संस्कृतिलाई पहिलेदेखि नै जोगाउँदै आएको र जोगाउनुपर्ने आवाज उठाउँदै आएको बताए ।

उनले सम्पूर्ण कलाकार सञ्चारकर्मीदेखि सबैले नेपालको कला संस्कृतिलाई यसरी नै जोगाउनुपर्ने धारणा राखे ।

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका प्रचारप्रसार विभाग प्रमुख गोपीकृष्ण चापागाईंले अन्य थुप्रै नेता तथा कलाकारको घरमा पनि देउसीको कार्यक्रम आयोजना गरिएको बताए ।

संस्थाका निवर्तमान अध्यक्ष हरि बल्लभ नेपालले वि।स। २०६५ सालदेखि नै लोक सञ्चारकर्मी नेपालले मौलिक कला संस्कृतिका विषयमा यसरी नै आवाज उठाउँदै आएको बताए ।